भोटेकोशी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालयहरू प्रभावित भएका छन् । जसमा ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढीपश्चात त्यस क्षेत्रमा ९ हजारभन्दा धेरै विद्यार्थीहरूको पठनपाठन अबरुद्ध भएको छ ।

संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न तत्काल १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२  लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान छ ।

सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । नेपालका निजी स्कूलका विभिन्न पाँच वटा संस्थाहरूले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन १ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् ।

बाढीबाट प्रभावित भई विभिन्न ठाउँमा बसेका विद्यार्थीलाई तत्काल पठनपाठन सुचारु गर्नका निमित्त उनीहरूको पायक पर्ने विद्यालयमा नै व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरुले सहजीकरण गरिरहेको बताइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।