कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंह फेरि एकपटक प्रधानमन्त्री बालेन्द्र शाहप्रति खनिएका छन् । बालेन सरकार बनेयता निरन्तर विरोध गर्दै आएका उनले बिहीबार प्रतिनिधिसभा बैठकमा बालेनको सत्तालाई ‘तासको घर’ को संज्ञा दिए । 

सिंहले सरकारको केन्द्र सिंहदरबार नभएर ज्वागल भइरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार, सरकार नचलेको बताए। ‘संविधानअनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ,’ उनले भने। 

सल्लाहकारका कारण सरकारको केन्द्र अन्तै भइरहेको उनको भनाइ थियो। ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला,’ सिंहले भने, ‘सरकारका केन्द्र मैले सिंहदरबार हुन्छ मैले बुझेको छु। तर सरकारका केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिराछ।’

प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई इंगित गर्दै उनले सरकार बदनाम भइरहेको बताए। बेन ललितपुरको ज्वागलमा बस्छन्। सिंहले बेन केही समयअघि नयाँदिल्ली पुगेर लिजा होटलमा बसेको पनि रहस्य खोले ।

सरकारले संविधानका आधारभूत स्तम्भमाथि आक्रमण गरिरहेको उनको आरोप छ। ‘चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ,’ उनले भने, ‘सरकारले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ।’  

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।