काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका खोटाङका २५ वर्षीय शेरबहादुर मगरलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
मगर २०८२ चैत ११ गते मेलम्ची नगरपालिका–१०, आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । उनको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो । उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।
विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचार खर्चबापत ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।
मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन्। बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताएका छन् ।

