काठमाडौं । नेपाली क्रिकेट खेलाडीको यसपटक पनि ब्याटिङ चल्न सकेन । एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपाललाई ओमानले एक सय ४७ रनमै अलआउट गरेको छ ।
मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अलआउट हुँदा १४७ रन मात्र बनाउन सक्यो ।
दीपेन्द्रसिंह ऐरी र बसिर अहमदबाहेक कुनै पनि ब्याटर चलेनन् । नेपालको शीर्ष क्रम चल्नै सकेन । मध्यक्रममा बसिर र दीपेन्द्रले १४७ बलमा ९३ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका हुन् । नेपालले ११.२ ओभरमा ३६ रन जोड्दा चार विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्र र बसिरले लामो साझेदारी गरे ।
३५.५ ओभरमा बसिर आउट हुँदा नेपालले १२९ रन जोडेको थियो । १३० रन बनाउँदा दीपेन्द्र पनि आउट भएपछि कुनै पनि ब्याटर क्रिजमा टिक्नै सकेनन् ।
दीपेन्द्रले ७६ बलमा चार चौकासहित सर्वाधिक ५१ रन बनाए । बासिरले ८८ बलमा तीन चौका र १ छक्कासहित ४७ रन बनाएर आउट भएका हुन् ।
यसअघि ओपनर देव खनाल १३, आसिफ शेख ११, इशान पाण्डे १, रोहितकुमार पौडेल ३ रन बनाएर आउट भएका थिए । त्यस्तै अलराउण्डर गुल्शन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ रन बनाएर आउट भएका थिए ।
ओमानका बलर जयविक्रम ओदेदारा र हस्नैन शाहले समान तीन–तीन विकेट लिएका थिए । मुहम्मद इमरामनले दुई तथा शाकिल अहमद तथा मुजिबर अलीले समान एक–एक विकेट लिएका हुन् । नेपाल समूह ‘ए’ को विजेता तथा ओमान समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।

