बाढी प्रभावित परिवारका लागि अस्थायी बसोबासको सर्वेक्षण सुरु

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ ।

आपत्कालीन अवस्थामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका परिवारलाई अब केही हप्ताभित्रै उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली परिचालन गरी प्रभावित परिवारको आवश्यकता मूल्याङ्कन गरिरहेको छ बहने सर्वेक्षणमा घरको क्षतिको अवस्था, दिवंगत वा बेपत्ता सदस्यको संख्या, अस्थायी आश्रय वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता र स्थानान्तरणको विकल्पबारे विवरण संकलन गरिने बताइएको छ ।

त्यसैगरी खानेपानी, सरसफाइ तथा अन्य आवश्यकताबारे पनि जानकारी लिइनेछ। यसबाट प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गरी सरकारले अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण एक साताभित्र सम्पन्न गर्ने तयारी छ । त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि सोही प्रक्रियामार्फत सर्वेक्षण गरिने जनाइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।