सुभाष कायस्थ
जनकपुरधाम, २३ भदौ। जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया भदौ अन्तिम साताबाट सुरु भई असोज ११ गतेसम्म सञ्चालन हुनेछ।
मनोनयनपत्र दर्तादेखि मतगणना तथा परिणाम घोषणासम्मको कार्यतालिका सार्वजनिक गरिएको हो। कार्यतालिकाअनुसार भदौ २१ गते सोमबार सम्पूर्ण वडा, पालिका तथा जिल्ला अधिवेशनको विवरण अद्यावधिक गरिनेछ। सोही दिन पार्टीका सम्पूर्ण केन्द्रीय तथा प्रदेश निकाय, विभाग र मोर्चाका केन्द्रीय तथा प्रदेश समितिको विवरणसमेत अद्यावधिक गरिनेछ।
यस्तै भदौ २८ गते आइतबार जिल्लाबाट मनोनीत गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको विवरण अद्यावधिक गरिनेछ। कार्यतालिकाअनुसार भदौ २९ गते मतदाता नामावली प्रकाशन र त्यसको भोलिपल्ट भदौ ३० गते मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी-विरोध गर्न सकिनेछ।
त्यसपछि २०८३ असोज १ गते बिहीबारदेखि महाधिवेशनको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ भने असोज २ गते शुक्रबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
प्रकाशित नामावलीमाथि असोज ३ गते शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दाबी-विरोध र असोज ४ गते आइतबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ।
यस्तै असोज ५ गते सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै असोज ९ गते निर्वाचन तयारीबारे बैठक गरिनेछ र असोज १० गते महाधिवेशन तथा मतदान प्रक्रिया हुनेछ।
मतदान सम्पन्न भएपछि असोज ११ गते आइतबार मतगणना तथा परिणाम घोषणा गरिनेछ। सोही दिन केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर पार्टीबारे महत्त्वपूर्ण निर्णयहरू गरिने जनाइएको छ।
पार्टीले उम्मेदवारी मनोनयनपत्र दर्ता, मनोनयन फिर्ता, दाबी-विरोध वा अन्य सुझावका लागि डिजिटल माध्यम (इमेल) को समेत व्यवस्था गरेको छ। निर्वाचनसम्बन्धी कार्यका लागि janamatparty@gmail.com इमेल ठेगाना उपलब्ध गराइएको छ। उम्मेदवारीसम्बन्धी आवश्यक कागजात उक्त इमेल ठेगानामा पठाउन सकिने कार्यतालिकामा उल्लेख छ।
यस कार्यतालिकाले जनमत पार्टीको महाधिवेशनमा मतदाता नामावली प्रकाशन, दाबी-विरोध, उम्मेदवारी दर्ता, उम्मेदवारको अन्तिम नामावली, मतदान तथा मतगणनासम्मका सबै चरणको मिति र समय स्पष्ट पारेको छ। यससँगै पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने देखिएको छ।

