काठमाडौँ । सुरक्षा चिन्ताका कारण सन् २०२४ देखि बन्द रहेका भारत र बंगलादेशबीचका मैत्री, मिताली र बन्धन एक्सप्रेस रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा छलफल हुने भएको छ ।
दुई देशका रेल अधिकारीबीच ढाकामा सुरु हुने दुईदिने अन्तरसरकारी रेल बैठकमा यस विषयमा औपचारिक छलफल हुने भएको हो ।
बैठकमा सहमति जुटेमा कोलकाताबाट ढाका र खुल्ना तथा नयाँ जलपाइगुडीबाट ढाकासम्म सञ्चालन हुने तीनवटै रेल सेवा आगामी महिनादेखि पुनः सञ्चालन हुन सक्ने स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशले राजशाही–कोलकाता नयाँ रेल सेवा सञ्चालन तथा ढाका–कोलकाता मैत्री एक्सप्रेसलाई पद्मा पुल हुँदै सञ्चालन गर्ने प्रस्तावसमेत राख्ने भएको छ ।
सन् २०२४ मा बंगलादेशमा भएको राजनीतिक अशान्तिका कारण मिताली एक्सप्रेससहित तीनवटै अन्तरदेशीय रेल सेवा स्थगित भएका थिए । मिताली एक्सप्रेसको रेल पाँच महिनाभन्दा बढी समय बंगलादेशमै रोकिएको थियो भने डिसेम्बरमा कडा सुरक्षा व्यवस्थाबीच भारत फर्काइएको थियो ।
बैठकमा रेलमार्फत हुने मालसामान ढुवानी तथा भारतको ऋण सहयोगमा निर्माण भइरहेका रोकिएका रेल आयोजना पनि छलफलका विषय बन्ने भएका छन् ।
यसैबीच भारतले बंगलादेशलाई २०० वटा नयाँ यात्रुवाहक रेल डिब्बा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। करिब ९१५ करोड भारतीय रुपैयाँको सम्झौताअन्तर्गत पहिलो १९ डिब्बाको रेल तयार भइसकेको जनाइएको छ ।

