बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई राहत र रोजगारीको व्यवस्था

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले प्रहरी नियमावलीअनुसार उपलब्ध हुने सेवा–सुविधाका अतिरिक्त राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ ।

यस्तै, दिवंगत प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ । दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई नेपाल प्रहरी विद्यालयमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ ।

भोटेकोशी बाढीमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई राहत तथा सामाजिक सुरक्षाका थप व्यवस्था गर्ने उद्देश्यले उक्त निर्णय गरिएको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।