प्रधानमन्त्री शाहसँग कुलमानको भेटवार्ता, उद्धार प्रभावकारी बनाउन उपकरण पुर्याउन दिए सुझाव

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

बिहीबार रसुवा बाढीपछिको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने विषयमा घिसिङले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।

 प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सुरुङ भित्र उद्धार गर्न आफुले उपकरण र दक्ष उद्धार टोली परिचालन गर्नुपर्ने सुझाव दिएको बताए । घिसिङले उद्धारका लागि कुनै विशेष प्रविधिको आवश्यकता नरहेको प्रधानमन्त्रीलाई बताएको जानकारी दिए ।

बुधबार प्रधानमन्त्री शाहले संसदमा बोल्दै सुरुङबाट उद्धारको प्रविधि विश्वमा नै नरहेको अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ ।  

घिसिङले उद्धारमा मुख्य चुनौती जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलसम्म पुर्‍याउनु रहेको बताउदै भने- ‘कुनै विशेष प्रविधि चाहिने होइन, सामान्य उपकरण र दक्ष उद्धार टोलीबाटै काम गर्न सकिन्छ ।मुख्य समस्या जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलमा पुर्‍याउनु हो।’

घिसिङले उपकरण समयमै घटनास्थलमा पुर्‍याउन सके उद्धार कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन सकिने बताए । घिसिङ यसअघि नै जलविद्युत आयोजनाका सुरुङमा भएको उद्धारका कामको अवलोकन गरेर फर्किएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।