एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । 

विहिबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।  मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाएका थिए भने इशान पाण्डेले २०, रोहित पौडेलले १० तथा दिपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाएका थिए । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको थियो । त्यस्तै, मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिए भने ललित राजबंशीले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । 

नेपालले यसअघि बहराइनलाई पराजित गरेको थियो । प्रतियोगितामा अब नेपालले तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।