सञ्जय मिश्रा
रौतहट, १७ भदौ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल बार एसोसिएसन रौतहटले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
बार एसोसिएसन रौतहटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गरेको जनाएको छ।
देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला पीडितको राहत तथा उद्धारमा आफ्नोतर्फबाट केही योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको नेपाल बार एसोसिएसन रौतहटका जिल्ला अध्यक्ष हेमचन्द्र लाल कर्णले बताए।
‘देश पीडामा रहेको बेला रौतहटका वकिलहरूको तर्फबाट केही सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा १ लाख १ हजार रुपैयाँ जम्मा गरेका हौँ,’ अध्यक्ष कर्णले भने।
उनका अनुसार विपद्को समयमा राज्यका साथै विभिन्न संघसंस्था, पेशागत संगठन र नागरिक समाजले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न आवश्यक छ। सोही भावनाअनुसार बार एसोसिएसन रौतहटले राहत कोषमा सहयोग गरेको हो।
बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई तत्काल राहत, खाद्यान्न, आवास तथा अन्य आवश्यक सामग्रीको आवश्यकता रहेको अवस्थामा बारको आर्थिक सहयोगले राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।
कानुन व्यवसायीहरू न्याय र कानुनी अधिकारका विषयमा सक्रिय रहँदै आए पनि विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितका लागि सहयोग गर्नु सकारात्मक कदमका रूपमा हेरिएको छ।
बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटिरहेका बेला रौतहट बारको यो पहलले अन्य पेशागत संगठन तथा संघसंस्थालाई समेत विपद्का बेला पीडितको साथमा उभिन प्रेरणा दिने अपेक्षा गरिएको छ।

