जलवायु परिवर्तनको मुद्धामा साना राष्ट्रले नेतृत्व गर्दै ठूला राष्ट्रलाई दबाब दिनुपर्छ- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि साना राष्ट्रहरूले नेतृत्वदायी भूमिका खेल्दै ठूला राष्ट्रलाई कार्बन उत्सर्जन घटाउन दबाब दिनुपर्ने निष्कर्ष निकालेको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले अरू देशले गरेको कार्बन उत्सर्जनको असर नेपालजस्ता साना राष्ट्रले भोग्नुपरेको जनाएको छ। सन् २०२४ को तथ्यांकअनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान ०.०५ प्रतिशत मात्रै भए पनि जलवायु परिवर्तनका कारण नेपालले पटक–पटक ठूलो क्षति व्यहोर्नुपरेको बैठकले उल्लेख गरेको छ ।

प्रतिष्ठानले भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनासँगै जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न नेपालले आफ्नो भूमिका फरक ढंगले अघि बढाउनुपर्ने जनाएको छ ।

नेपालका सयौँ हिमाल जलवायु परिवर्तनको जोखिममा रहेकाले सगरमाथाको देश नेपालले जलवायु परिवर्तनको मुद्दामा साना राष्ट्रहरूको नेतृत्व गर्दै ठूला राष्ट्रसँग संवाद र दबाबको नीति अपनाउनुपर्ने समय आएको प्रतिष्ठानको निष्कर्ष छ। यस विषयमा सरकारलाई आफ्नो दृढ समर्थन रहने कांग्रेसले जनाएको छ ।

यसैगरी प्रतिष्ठानले ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने अभियानलाई निरन्तरता दिँदै देशव्यापी बनाउने निर्णय गरेको छ। भोटेकोशी घटनापछि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउनुका साथै जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।