भोटेकोशी बाढीका कारण एभरेस्ट महिला भलिबल लिग स्थगित

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित गरिएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्सले प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूसँग ऐक्यबद्धता जनाउन लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

यसअघि लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना गर्ने घोषणा गरिएको थियो ।

नेपाल भलिबल संघबाट स्वीकृति पाएपछि आयोजकले प्रतियोगिताको तयारी औपचारिक रूपमा अघि बढाएको थियो । तेस्रो संस्करणमा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज, पोखरा निन्जा र सुदूरपश्चिम रोयल वारियर्सले प्रतिस्पर्धा गर्ने तय भएको थियो । सुदूरपश्चिम रोयल वारियर्सले यस संस्करणमा नयाँ टोलीका रूपमा सहभागिता जनाउने भएको थियो ।

यसअघि २०२४ र २०२५ मा सम्पन्न लिगका दुवै संस्करण कर्णाली यशविसले जितेको थियो। दुवै संस्करणमा ललितपुर क्विन्स उपविजेता बनेको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।