जापानले कृत्रिम बुद्धिमत्ता र ड्रोनमा केन्द्रित गर्दै हालसम्मकै ठूलो रक्षा बजेट ल्याउदै

काठमाडौं । जापानले आगामी आर्थिक वर्षका लागि हालसम्मकै ठूलो ८.८९ ट्रिलियन येनको रक्षा बजेट माग गरेको छ । यो रकम करिब ५६ अर्ब अमेरिकी डलर बराबर रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रस्तावित बजेटमा कृत्रिम बुद्धिमत्ता र ड्रोनको प्रयोगमार्फत युद्धका नयाँ तरिकाका लागि तयारी, लामो समयसम्म सैन्य अभियान सञ्चालन गर्न सक्ने क्षमता विस्तार तथा रक्षा उद्योगलाई थप बलियो बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

जापानले जनशक्तिको क्षति कम गर्न मानवरहित प्रणालीको प्रयोग बढाउने तयारी गरेको छ । यसअन्तर्गत निगरानी तथा सूचना संकलनका लागि साना ड्रोन, मानवरहित हवाई उपकरण र कृत्रिम बुद्धिमत्तामा आधारित निर्णय सहयोग प्रणाली विकास गर्ने योजना अघि सारिएको छ ।

त्यसैगरी जापानले लामो दूरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्र तथा पानीमुनिबाट प्रहार गर्न सकिने अतिवेग क्षेप्यास्त्रसहित मानवरहित पानीमुनिका उपकरणबाट सञ्चालन हुने हतियार प्रणालीको अनुसन्धान अघि बढाउने भएको छ ।

जापानको बढ्दो सैन्य खर्च जनशक्ति अभाव समाधानमा मात्र सीमित नभई उसको आक्रमण क्षमता र लामो समयसम्म युद्ध सञ्चालन गर्ने तयारी विस्तारतर्फ उन्मुख रहेको विश्लेषण गरिएको छ ।

जापानको आगामी बजेट पाँच वर्षे रक्षा क्षमता विस्तार योजनाको अन्तिम वर्षको बजेट हो । उक्त योजनाअन्तर्गत सन् २०२३ देखि २०२७ सम्म करिब ४३ ट्रिलियन येन रक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्य राखिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।