अमेरिका-इरान तनाव बढेपछि कच्चा तेलको मूल्य फेरी बढ्यो

काठमाडौं । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । पछिल्लो अपडेट अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले बढेर पाँच साताकै उच्च विन्दुमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ४.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९४ डलर ६५ सेन्ट पुगेको छ। अमेरिकी पश्चिम टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य ५.२ प्रतिशतले बढेर ९० डलर २२ सेन्ट पुगेको छ।

अमेरिकाले इरानका इस्लामिक रिभोलुसनरी गार्ड्सका विभिन्न लक्ष्यमा नयाँ हवाई आक्रमण गरेपछि मध्यपूर्वबाट तेल आपूर्तिमा थप अवरोध आउन सक्ने आशंकाले मूल्य बढेको हो । इरानले पनि खाडी क्षेत्रबाट हुने तेल निर्यात रोक्ने चेतावनी दिएको छ ।

विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा पछिल्लो समय दुईवटा तेल बोकेका पानीजहाजमा आक्रमण भएको खबरपछि पनि बजारमा चिन्ता बढेको थियो। उक्त जलमार्गबाट हुने तेल आपूर्ति लामो समयसम्म प्रभावित हुन सक्ने आशंका गरिएको छ ।

यसैबीच विश्वका विभिन्न क्षेत्रमा प्रशोधन केन्द्रमा देखिएको अवरोधका कारण डिजेलको मूल्य पनि उल्लेख्य बढेको छ । अमेरिकामा डिजेलको मूल्य ५२ महिनायताकै उच्च पुगेको जनाइएको छ ।

बजारमा अमेरिकी तेल भण्डारणको तथ्यांकलाई समेत चासोका साथ हेरिएको छ । विश्लेषकहरूले अगस्ट २८ मा सकिएको सातामा अमेरिकी भण्डारणबाट करिब ८ लाख ब्यारेल कच्चा तेल बाहिरिएको अनुमान गरेका छन् । यस्तो भए पाँच सातापछि पहिलोपटक अमेरिकी तेल भण्डारण घटेको हुनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।