जलविद्युत् आयोजनाका सुरुङमा भएको उद्धार प्रयास बारे नेपाली सेनाले के भन्यो ?

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। भदौ १६ गते बिहान ११ बजेसम्म नेपाली सेनाले हवाई माध्यमबाट २३ जनाको उद्धार गरेको जनाएको छ ।

सुरुङ उद्धारतर्फ चिलिमे जलविद्युत् आयोजनामा संयुक्त टोलीले करिब ५० मिटर, लाङटाङ जलविद्युतमा १५० मिटर र माथिल्लो त्रिशूली–१ मा करिब २०० मिटरसम्म सुरुङभित्र प्रवेश गरी खोजी गरेको छ।

त्रिशूली–३ ‘ए’ मा सुरुङको प्रवेशस्थल फेला पारेर पानी निकाल्ने तथा हावा पठाउने काम भइरहेको छ। तीनवटा डोजर प्रयोग गरी वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने सुरुङभित्र प्रवेश गर्ने स्थान बनाउन ढुंगा फुटाउने काम भइरहेको छ। त्रिशूली–३ ‘बी’ मा पनि प्रवेशद्वार पत्ता लगाएर डोजरमार्फत खन्ने काम भइरहेको छ ।

बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २०० भन्दा बढी जनशक्ति परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।

यसैगरी प्रभावित क्षेत्रमा सरसफाइ तथा संक्रमण रोकथामका लागि धुन्चे, त्रिशूली, देवघाट, परासीस्थित पृथ्वीचन्द्र अस्पताललगायतका क्षेत्रमा निसंक्रमणको काम गरिएको सेनाले जनाएको छ । बाँकी क्षेत्रमा स्थानीय तहसँगको समन्वयमा काम अघि बढाइने बताइएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।