नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्र २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार उद्धारका क्रममा होटल वा गेस्ट हाउसजस्तो देखिने उक्त घरभित्र २४ जनाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले शव फेला परेको स्थानमा मङ्गलबार पनि खोजी कार्य जारी राखिएको र मृतकहरूको पहिचान तथा भवनको स्वामित्वबारे विस्तृत विवरण सङ्कलन भइरहेको जानकारी दिए।

गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। बाढी र पहिरोमा परी हालसम्म ९ सयभन्दा बढीको शव फेला परिसकेको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्। 

रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार तथा बगाएर लगिएका बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल निरन्तर खटिएका छन्। सरकारले उद्धार कार्यलाई अझै पनि पहिलो प्राथमिकतामा राखेको जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।