संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निर्णय गर्दै सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी छन् ।

उनले भनिन्-‘ अब सदन छिटोभन्दा छिटो चल्नुपर्छ, सदन चल्यो भने सांसदहरुमार्फत आम जनता कुरा संसदमा आउने हुनाले सदन खोल्नुपर्ने निर्णय गरेको छ । पार्टीका सांसदहरुलाई प्रभावित क्षेत्रमा गएर भिडभाड नगर्न निर्देशन दिएका छौं । आफ्ना जिल्लाका जनता सम्पर्कमा नरहेका संसादहरु प्रभावित क्षेत्रमा जादा कमसेकम साथमा लिएर जान निर्देशन दिएका छौं ।’      

त्यस्तै बैठकले राहत कार्यमा सहयोग पुर्‍याउन पार्टीका सबै सांसदहरूले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिइन् । प्रमुख सचेतक थापाले स्थानीय तहलाई राहत वितरणमा सहभागी गराउनुपर्ने  आफ्नो पार्टीको धारणा रहेको बताएकी छन् ।

त्यस्तै कांग्रेस सचेतक निश्कल राईले वास्तविक पीडित र आवश्यक परेका मानिसहरूले राहत पाउन नसकेको र राहत सामग्री एकै ठाउँमा थुप्रिने तर वितरण प्रणाली प्रभावकारी हुन नसकेको बताए । उनले सरकारको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय नभएको पाइएको बताएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।