सुभाष कायस्थ
जनकपुरधाम, ९ भदौ । मधेश प्रदेश सभा अन्तर्गत रहेको महिला बालबालिका तथा समाजिक न्याय समितिले बिहीवार वार्षिक प्रगति विवरण बुझाउने निर्णय गरेको छ ।
समितिका सभापति रुपा यादवको सभापतित्वमा मंगलवार बसेको बैठकले आर्थिक वर्ष २०८२÷०८३ मा गरेको कार्य प्रगति विवरण बिहीवार बुझाउने निर्णय गरिएको जनाइएको छ ।
सभापति यादवले भनिन् पूर्व निर्धारित मिति भोली बुधवार नै प्रगति विवरण बुझाउने तयारी थियो । तर सार्वजनिक विदा भएको कारण बिहीवार सभापति रामआशिष यादवलाई बुझाउने निर्णय गरिएको हो । समितिले एक वर्षमा गरेको विभिन्न विधेयकमा छलफल र अनुगमन लगायतका विशेषहरु समेटिएको छ ।
गत आ.व.मा प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, बालिका संरक्षण ऐन संशोधन र बालिका संरक्षण सम्बन्धी बिधेयकसहितका तीनवटा विधेयक मा छलफल गरी पारितका लागि प्रक्रिया अघि बढाउनुका साथै प्रदेशस्थित विभिन्न अस्पतालको अनुगमन सहित समाजिक न्यायमा आधारित विभिन्न संघ संस्थाको अनुगमन गरिएको कुरा ती प्रतिवेदनमा समेटिएको सभापति यादवले बताएकी छिन् ।

