जिपले सिटी सफारीलाई ठक्कर दिँदा इटहरीमा पाँच जना घाइते

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित सशस्त्र प्रहरी ब्यारेक नजिक पूर्व–पश्चिम राजमार्गमा जिपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

मंगलबार इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फबाट आउँदै गरेको जिपले ठक्कर दिएको हो ।

दुर्घटनामा सिटी सफारी चालक इटहरी–४ का ४८ वर्षीय चन्द्रलाल चौधरीसहित मोरङ सुन्दरहरैँचा नगरपालिका–७ का ७२ वर्षीय भीम परियार, ९ वर्षीय प्रनिस सुनार, ३० वर्षीया प्रिङ्का सोनाम र उनकी १४ वर्षीया छोरी प्रनिसा सोनाम घाइते भएका छन् ।

घाइतेमध्ये भीम परियार, प्रनिस सुनार, प्रिङ्का सोनाम र प्रनिसा सोनामको विराटनगरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सिटी सफारी चालक चौधरीको स्थानीय सान्वी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।