अभिषेक बच्चन भन्छन, ‘सुत्नु अघि श्रीमतीसँग तीन पटक सरी भन्नुहोस्, जीवन सफल हुन्छ’

मुम्बई, ५ भदौं । अभिषेक बच्चन ‘जयपुर पिंक प्यान्थर्स’ का मालिक हुन्, जुन ‘प्रो कबड्डी लिग’मा प्रतिस्पर्धा गर्ने एक प्रो कबड्डी फ्रेन्चाइज टोली हो।

हालै उनले जयपुर सहर आफ्नो हृदयमा किन विशेष स्थान राख्छ भन्नेबारे खुलासा गरेका छन, उनका अनुसार जयपुर ऐश्वर्या रायसँगको प्रेम सबन्धसँग  जोडिएको छ।

आफ्नो पोडकास्ट कार्यक्रम ‘फ्युचर अनप्लग्ड’ मा पिडब्लुसी इन्डियाका अध्यक्ष सञ्जीव कृष्णनसँग कुरा गर्दै अभिषेक बच्चनले भने, ‘मैले जयपुरको टोली रोजेँ। जयपुर त्यही ठाउँ हो, जहाँ मैले मेरो पहिलो चलचित्रको केही भागको छायाङ्कन गरेको थिएँ। कुनै नयाँ कामको सुरुवातका लागि यो एउटा शुभ कुरा थियो। र यो त्यही सहर पनि हो, जहाँ ऐश्वर्या र मैले एक अर्कालाई डेट गर्न सुरु गरेका थियौं, यसमा भावनात्मक पक्ष पनि जोडिएको छ।’

अभिषेकले सन् २००० मा आफ्नो पहिलो चलचित्र ‘रिफ्युजी’को छायाङ्कन पनि जयपुरमै गरेका थिए। यसका साथै, उनले ‘पिंक’रङको आफ्नी छोरी आराध्यासँगको सम्बन्ध र ‘प्यान्थर’ को ऐश्वर्या रायसँगको सम्बन्धबारे पनि चर्चा गरे।

अभिषेक बच्चनले थपे, ‘पिंक कलर रोज्नुको कारण त्यो समयमा यो मेरी छोरीको मनपर्ने रङ थियो र ‘पिंक प्यान्थर’ ऐश्वर्याले अभिनय गरेको चलचित्र पनि हो। यदि तपाईंले ध्यान दिनुभयो भने, हाम्रो ‘पिंक प्यान्थर’ का आँखा नीलो हरियो रङका छन्, जुन मेरी श्रीमतीका आँखाजस्तै छन्। त्यसैले ‘जयपुर पिंक प्यान्थर्स’ सँग जोडिएका हरेक कुरामा व्यक्तिगत सम्बन्ध गाँसिएको छ।’

ऐश्वर्या र अभिषेकको विवाह अप्रिल २००७ मा मुम्बईमा भव्य रूपमा सम्पन्न भएको थियो।

उनीहरूको पहिलो भेट राज कवरको चलचित्र ‘ढाई अक्षर प्रेम के’ (सन् २०००) को सुटिङका ​​क्रममा भएको थियो। उनीहरूबीच प्रेम भने त्यसको धेरै पछि मात्र मौलाएको हो। अभिषेकका अनुसार त्यसबेला उनीहरूको सम्बन्ध विशुद्ध मित्रतामा आधारित थियो।

‘भविष्यमा के हुँदैछ भन्ने कुराको कुनै आभास थिएन। हाम्रो राम्रो जमघट हुन्थ्यो तर के मलाई उनी नै मेरी जीवनसंगीनी हुन् भन्ने लागेको थियो ? अहँ, पटक्कै थिएन’ उनले ‘डेक्कन क्रोनिकल’ लाई भनेका पनि थिए ।

यी दुई ‘कुछ ना कहो’ चलचित्रका लागि पुनः सँगै देखिए तर त्यसबेला पनि उनीहरूको सम्बन्ध पूर्णतया व्यावसायिक नै थियो। सन् २००७ मा मुम्बईमा उनीहरूको भव्य विवाह भयो र त्यस अघि ‘गुरु’ चलचित्र प्रदर्शनमा आयो।

‘हामीले सँगै काम गरेको चलचित्र ‘गुरु’ रिलिज भएको केही महिनापछि नै विवाह गर्‍यौं। मणिरत्नम, जसले ‘गुरु’को निर्देशन गरेका थिए, हामी दुवैका लागि विशेष व्यक्ति हुनुहुन्छ। हामी उहाँलाई एक प्रिय मित्र र ‘गडफादर’ मान्छौं। आज, ऐश मेरी छोरीकी आमा मात्र होइनन्, आराध्यालाई सही संस्कारका साथ हुर्काएको सम्पूर्ण श्रेय उनैलाई जान्छ, उनी मेरी जीवनसंगीनी पनि हुन्। हाम्रो वैवाहिक जीवनको १९ वर्ष कुनै सपनाजस्तै बित्यो। हाम्रो २०औं वार्षिकोत्सवका लागि मसँग ठूला योजनाहरू छन् तर म अहिले नै तीबारे बताउने छैन,’ अभिषेकले भने।

सफल वैवाहिक जीवनको रहस्यबारे सोधिँदा अभिषेकले भने, ‘हरेक रात सुत्नु अघि नबिर्सिकन आफ्नी श्रीमतीसँग तीन पटक ‘सरी’ भन्नुहोस्।’

‘रावण’ बाहेक अभिषेक र ऐश्वर्याले ‘ढाई अक्षर प्रेम के,’  ‘कुछ ना कहो’, ‘सरकार राज’, ‘गुरु’ र ‘धूम २’, ‘वन्टी और बब्ली’ जस्ता चलचित्रहरूमा सँगै काम गरेका छन्। अभिषेक र ऐश्वर्या अनुराग कश्यपको आगामी चलचित्र ‘गुलाब जामुन’मा पुनः एकपटक ठूलो पर्दामा सँगै देखिने भएका छन्।
 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।