इदमा सलमान खान र प्रभास बिच भिडन्त हुने, को होला सफल ?

मुम्बई, ४ साउन । सन् २०२७ को इदमा हुने भनिएको सलमान खान र प्रभासबीचको बहुचर्चित बक्स अफिस भिडन्त यथावत रहने भएको छ।

सन्दीप रेड्डी वांगाद्वारा निर्देशित तथा प्रभास अभिनित चलचित्र ‘स्पिरिट’ ५ मार्च २०२७ मा प्रदर्शन हुने पक्का भएको छ र निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ।

‘स्पिरिट’ को प्रदर्शन मिति पछि सर्न सक्ने भन्ने चर्चाका बीच यो स्पष्टीकरण आएको हो। यदि मिति सारिएको भए ५ मार्चको मिति सलमान खान र निर्देशक वामशी पैदिपल्लीको आगामी चलचित्रका लागि खाली हुने थियो। तर, टी सिरिजले ‘स्पिरिट’ योजना अनुसार नै अघि बढिरहेको स्पष्ट पारेको छ।

टी सिरिजका एक प्रवक्ताले ‘जुम’लाई भने, ‘हामी ‘स्पिरिट’ को प्रदर्शनको तयारीमा योजना अनुसार नै अघि बढिरहेका छौं। यो चलचित्र ५ मार्च २०२७ मा प्रदर्शन हुने तय छ र घोषणा गरिएको मितिमा कुनै परिवर्तन गरिएको छैन। हामी तालिका अनुसार काम गरिरहेका छौं र ५ मार्च २०२७ मा विश्वभरका दर्शकमाझ चलचित्र ल्याउने तयारीमा छौं।’

यसको अर्थ दुवै चलचित्रले हाल एउटै मितिलाई लक्षित गरिरहेका छन्। सलमानको अझै नाम नजुराइएको परियोजना सन् २०२७ को इदमा प्रदर्शन गर्ने योजना बनाइएको छ भने ‘स्पिरिट’ का लागि ५ मार्च २०२७ को मिति निश्चित गरिएको छ।


‘स्पिरिट’ मार्फत प्रभास र सन्दीप रेड्डी वांगा पहिलो पटक एकसाथ आउँदैछन्। यस चलचित्रमा तृप्ति डिमरी र विवेक ओबेरोयको पनि अभिनय रहनेछ। भूषण कुमारको टी सिरिजद्वारा निर्माण हुन लागेको यो एक्सन ड्रामा प्रभासको बहुप्रतिक्षित आगामी परियोजनाहरूमध्ये एक हो।

यसैबीच, सलमान खान पहिलो पटक वामसी पैदिपल्लीसँग सहकार्य गर्दैछन्। हाल ‘एसभीसी ६३’ नाम दिइएको यो चलचित्र श्री भेङ्कटेश्वर क्रिएशन्स अन्तर्गत दिल राजुले निर्माण गर्दैछन्।

यस चलचित्रमा सलमानको जोडीका रूपमा नयनतारा देखिने छिन् । मुख्य कलाकारका रूपमा उनीहरूको यो पहिलो सहकार्य हुनेछ। यसका साथै अभिमन्यु सिंह पनि कलाकार टोलीमा समावेश छन्।

हालका लागि दुवै परियोजनाका निर्माताहरू आ आफ्ना योजनाहरूमा अडिग रहेको देखिन्छ। यदि दुवै चलचित्र मार्च ५ को समय सीमामा रिलिज भएमा सन् २०२७ को इदमा बक्स अफिसमा दर्शक तान्न सलमान खान र प्रभासबीच प्रतिस्पर्धा हुने सम्भावना छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।