बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भदौ २ गते भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा जितपुरसिमरा बस्ने ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाउदै प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार बालिका साउन ३१ गते बिहान करिब ८: ३० बजे घरबाट हराएकी थिइन् । अनुसन्धानका क्रममा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने करिब १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा ना.१ ज ७७५८ नम्बरको यात्रुवाहक गाडीका सहचालक रहेका १६ वर्षीय बालक र उक्त गाडीका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।2026-8-19 1:49 pm / 2083-05-03 1:49 pm

