रौतहट, २ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखका रूपमा एसपी चेतराज जोशीले कमाण्ड सम्हालेका छन्।
एक वर्षे कार्यकाल पूरा गरी एसपी रामहरि अधिकारी सरुवा भएपछि जोशीले नयाँ गण प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्।
जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमवार आयोजित कार्यक्रममा सीडीओ दिनेश सागर भुसालले सरुवा भएका एसपी अधिकारीलाई धन्यवादसहित बिदाइ तथा नयाँ जिम्मेवारीमा आएका एसपी जोशीलाई स्वागत गरेका छन्।
कार्यक्रममा सीडीओ भुसालले एसपी अधिकारीले आफ्नो एक वर्षे कार्यकालमा सीमा सुरक्षा, अपराध नियन्त्रण, द्वन्द्व व्यवस्थापन, शान्तिसुरक्षा कायम गर्न तथा विपद्का समयमा उद्धार र व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।
त्यसैगरी, नयाँ गण प्रमुख एसपी जोशीलाई स्वागत गर्दै सिडियो भुसालले रौतहटको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको समन्वय र सहकार्य अझ बलियो हुनुपर्नेमा जोड दिएका थिए।
रौतहट भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले यहाँ सशस्त्र प्रहरीको जिम्मेवारी केवल सीमा सुरक्षामा सीमित छैन। सीमा अपराध नियन्त्रण, अवैध चोरी–पैठारी नियन्त्रण, विपद् व्यवस्थापन तथा जिल्लाको समग्र सुरक्षा संयन्त्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहँदै आएको छ। त्यसैले नयाँ नेतृत्वका रूपमा आएका एसपी जोशीका लागि सीमा सुरक्षा र अपराध नियन्त्रणसँगै स्थानीय सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्नु प्रमुख चुनौतीका रूपमा देखिन्छ।
एक वर्षे कार्यकाल पूरा गरेका एसपी अधिकारीको सरुवा सोमबारदेखि लागू भएको हो। अधिकारीको बिदाइसँगै रौतहटमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका एसपी जोशीले आगामी दिनमा जिल्लाको सुरक्षा चुनौतीलाई कसरी सम्बोधन गर्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

