टोखा-छहरे सडकमा राति सवारी आवागमन बन्द

नुवाकोट । वर्षाका कारण लेदोसहितको पहिरो र गेग्रान खस्दा पटक-पटक सडक अवरुद्ध हुन थालेपछि नुवाकोटको टोखा-छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शिवपुरी गाउँपालिका-८ घट्टेखोलास्थित सडकखण्डमा भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ । वर्षाका कारण सडकमा पहिरो तथा गेग्रान खस्ने जोखिम रहेकाले मानवीय क्षति न्यूनीकरण र सर्वसाधारणको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले अत्यावश्यक कामबाहेक वर्षाको समयमा घरबाहिर तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

साथै विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।