काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने सैन्य अभ्यास घटाउन रक्षामन्त्री पिट हेगसेथलाई निर्देशन दिएका छन् ।
ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासले उत्तर कोरियालाई गलत र शत्रुतापूर्ण सन्देश दिने बताएका छन् । उनले यस्ता अभ्यासमा अमेरिकाको ठूलो रकम खर्च हुने पनि उल्लेख गरेका छन् । तर दक्षिण कोरियाले भने अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने जनाएको छ ।
यसै साता सुरु हुने ‘उल्ची फ्रीडम शिल्ड’ सैन्य अभ्यासमा दक्षिण कोरियाका करिब १८ हजार सैनिक सहभागी हुनेछन् । सैनिकहरूले वास्तविक युद्धको जस्तै अवस्थामा गोली चलाउने, पानीयुक्त क्षेत्र पार गर्ने तथा सैन्य सामग्री एक स्थानबाट अर्को स्थानमा लैजाने अभ्यास गर्नेछन् ।
अमेरिका र दक्षिण कोरियाले यो अभ्यास कुनै देशमाथि आक्रमण गर्ने उद्देश्यले नभई उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्ने तयारीका लागि भएको बताउँदै आएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा इरानको पनि उल्लेख गर्दै दक्षिण कोरियालाई इरानलाई आणविक हतियारमुक्त बनाउने अमेरिकी प्रयासमा साथ दिन आग्रह गरेको तर सियोलले अस्वीकार गरेको बताएका छन् । उनले यो विषय सैन्य अभ्यास घटाउने निर्णयभन्दा अलग रहेको स्पष्ट पारेका छन् ।
उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासको विरोध गर्दै आएको छ । उसले यस्ता अभ्यासलाई आक्रमणको तयारीका रूपमा लिँदै कोरियाली प्रायद्वीपमा तनाव बढाउने गतिविधि भन्दै आएको छ ।
ट्रम्प र किमबीच सन् २०१८ देखि २०१९ सम्म तीनपटक भेटवार्ता भएको थियो । पहिलो भेट सन् २०१८ को जुनमा सिंगापुरमा भएको थियो भने त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भियतनाम र जुनमा दुवै नेताबीच पुनः भेट भएको थियो । ती वार्तामा उत्तर कोरियाको आणविक हतियारबारे छलफल भए पनि ठोस सम्झौता हुन सकेन ।
ट्रम्पले सन् २०१८ मा किमसँगको पहिलो भेटपछि पनि अमेरिका-दक्षिण कोरियाबीचका सैन्य अभ्यास रोक्ने घोषणा गरेका थिए । उनले ती अभ्यास महँगो र उत्तर कोरियाका लागि उत्तेजक भएको बताएका थिए । पछि दुवै देशले सैन्य अभ्यास पुनः सुरु गरेका थिए ।

