हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी

काठमाडौँ । इजरायली सेनाले हिजबुल्लाहको ‘बद्र इकाइ’का वरिष्ठ कमान्डर अबु हसन अलालाई मारिएको दाबी गरेको छ ।

इजरायली सेनाले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहले इजरायली सैनिकविरुद्ध गर्दै आएका गतिविधिको जवाफमा कारबाही गरिएको जनाएको छ ।

सेनाका अनुसार हसन अला इजरायली सैनिकविरुद्धका विभिन्न आक्रमणको योजना बनाउने र कार्यान्वयनमा संलग्न थिए । उनले दक्षिणी लेबनानमा इजरायली सैनिकतर्फ विस्फोटक पदार्थ बोकेका मानवरहित विमान पठाउने गतिविधिमा समेत भूमिका खेलेको सेनाको दाबी छ ।

यसैबीच, अरब लिगले लेबनानमाथि भएका इजरायली आक्रमणको निन्दा गरेको छ । अरब लिगका अनुसार पछिल्लो दिन भएका आक्रमणमा ११ जनाको मृत्यु भएको छ । घटनापछि क्षेत्रमा तनाव खतरनाक रूपमा बढ्दै गएको लिगले जनाएको छ ।

अरब लिगले यस्ता आक्रमणले द्वन्द्व अन्त्य गर्ने तथा समाधान खोज्ने प्रयासमा असर पार्न सक्ने चेतावनी दिएको छ । अरब लिगका प्रवक्ताले इजरायलका नीति र गतिविधिले कब्जाको नीति अपनाउने पक्ष द्वन्द्वलाई लामो समयसम्म जारी राख्न, वार्तामा अवरोध पुर्‍याउन र भूमिमा नयाँ अवस्था थोपर्न चाहेको देखिएको आरोप लगाए । यस्ता प्रयास पूर्ण रूपमा अस्वीकार्य र निन्दनीय रहेको अरब लिगले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।