नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बने जाभी

काठमाडौँ । नेदरल्यान्ड्सले बार्सिलोनाका पूर्वप्रशिक्षक तथा स्पेनका पूर्वस्टार खेलाडी जाभी हर्नान्डेजलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । निराशाजनक विश्वकपपछि रोनाल्ड कोएम्यानको बहिर्गमनसँगै ४६ वर्षीय जाभीलाई चार वर्षका लागि जिम्मेवारी दिइएको हो ।

जाभीले सन् २०२४ मा बार्सिलोनाको प्रशिक्षक पद छाडेपछि दुई वर्षपछि प्रशिक्षणमा पुनरागमन गरेका हुन् । उनले नेदरल्यान्ड्सलाई सन् २०२८ को युरोपियन च्याम्पियनसिप र सन् २०३० को विश्वकपसम्म प्रशिक्षण दिनेछन् ।

जाभीले नेदरल्यान्ड्सको आक्रामक, बल नियन्त्रणमा आधारित र सिर्जनात्मक खेलशैली आफूलाई मनपर्ने बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु ठूलो सम्मान भएको बताएका छन् ।

खेलाडीका रूपमा स्पेनसँग सन् २०१० को विश्वकप तथा सन् २००८ र २०१२ को युरोपियन च्याम्पियनसिप जितेका जाभीले प्रशिक्षकका रूपमा कतारको अल साद र बार्सिलोनामा काम गरिसकेका छन् । बार्सिलोनालाई उनले सन् २०२२-२३ को स्पेनी ला लिगा उपाधि र सन् २०२३ को स्पेनी सुपर कप जिताएका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।