चीनतर्फ पहिरो खस्दा भोटेकोशीको बहाब प्रभावित, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । चीनको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ ।

आज बिहान करिब ६: ३० बजे लिपिङको पारिपट्टि चीनतर्फको भिरबाट ढुंगामाटोसहितको पहिरो खसेपछि भोटेकोशीको बहाव प्रभावित भएको छ । पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति रोकिएको बताइएको छ । नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने र विपद्जन्य घटना हुनसक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी ड्यामसाइट, झोलुङ्गे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे र बलेफी बजार क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

पहिरोका कारण नदीको बहावमा थप परिवर्तन हुनसक्ने भएकाले भोटेकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।