विविधतामा एकतालाई संविधानले सुनिश्चित गरेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताएका छन् ।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको बताए ।

राष्ट्रपति पौडेलले आदिवासी जनजातिको विशिष्ट पहिचान, संस्कृति र परम्परा नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गरेका थिए ।  तराई-मधेशको विकास तथा त्यहाँ बसोबास गर्ने आदिवासी समुदायको न्याय र अधिकार सुनिश्चित नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने उनको भनाइ थियो ।

उनले विगतका द्वन्द्व र असन्तुष्टिलाई लोकतान्त्रिक संवाद तथा संवैधानिक प्रक्रियामार्फत समाधान गर्दै सबै समुदायबीच आपसी सद्भाव र एकता कायम गर्नुपर्ने बताए । राज्यका नीति निर्माण तथा निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपमा उपयोग गर्दै आर्थिक सशक्तीकरण गर्नुपर्ने धारणा राख्दै आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन सकिने भन्दै उनले खुला संग्रहालयजस्ता अवधारणालाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।