करदाता प्रोत्साहन उपहार: पहिलो बम्परको विजेता २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता

काठमाडौं । आन्तरिक राजश्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर नतिजा सार्वजनिक गरिएको छ । शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका हुन् । 

शुक्रबार बिहान अर्थमन्त्रालयमा एक कार्यक्रमका बीच अर्थमन्त्री स्वर्णिम वाग्लेले विजेता घोषणा गरेका हुन् । विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार १० लाख रुपैयाँ जित्ने उपभोक्ताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ । बम्पर विजेतासँगै पहिलो १५ दिनमा अन्य १५ उपभोक्ताहरूले पनि एक/एक लाख रुपैयाँ नगद उपहार जितेका छन् ।

साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा कारोबार गरी बिल अपलोड गरेका उपभोक्ताहरू यो उपहार प्रक्रियामा सहभागी भएका थिए।

हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टीपछि एक–एक लाख रुपैयाँ र साउन १५ गतेसम्मका सबै उपभोक्तामध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ नगद जित्नेछन् । 

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि अनुसार उपभोक्ताले मुख्य गरी दुई तरिकाबाट यो उपहार कार्यक्रममा सहभागी भई नगद पुरस्कार जित्न सक्नेछन्।  बैंक वा वालेटको क्युआर कोडमार्फत वस्तु तथा सेवा खरिद गरी भुक्तानी गरेका उपभोक्ताहरू यो प्रणालीमा स्वतः जोडिनेछन्। उनीहरूले अलग्गै आवेदन दिनु पर्दैन, तर दाबी गर्दा भने खरिद गरिएको बिल अनिवार्य रूपमा साथमा हुनुपर्नेछ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने विक्रेतासँग अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्नुपर्नेछ । उक्त बिल आन्तरिक राजस्व विभागको आधिकारिक वेबसाइटमा गएर अपलोड गरेपछि प्राप्त हुने कुपनका आधारमा उनीहरू उपहार प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।