अर्घाखाँची, १७ साउन । लोकतन्त्रमा जनप्रतिनिधि जनताको घरसम्म पुग्नुपर्छ भन्ने कुरा हामी धेरै सुनिरहेका हुन्छौं। तर व्यवहारमा त्यो दृश्य कमै देखिन्छ।
चुनाव अघि घर–घर पुग्ने नेताहरू चुनावपछि सहर, बैठक, सुरक्षा घेरा र औपचारिक कार्यक्रममा सीमित हुने संस्कार नयाँ होइन ।
यहीबीच अर्घाखाँचीमा एउटा फरक दृश्य देखिन थालेको छ।
ग्रामीण सडकमा धुलो उडाउँदै एउटा मोटरसाइकल बिस्तारै अघि बढिरहेको हुन्छ। त्यो मोटरसाइकल कुनै र्यालीको होइन, कुनै सरकारी निरीक्षण टोलीको पनि होइन। त्यसमा सवार हुन्छन् प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाल ।
उनीसँग न त सवारीको लस्कर हुन्छ, न सुरक्षाकर्मीको घेरा, न त अगाडि–पछाडि साइरन बजाउने गाडी। उनीसँग हुन्छ एउटा हेल्मेट र जनताको घरसम्म पुग्ने इच्छा ।
उनी गाउँ पुग्न निम्ता कुर्दैनन् । कसैले सम्मान गरिदियोस् भन्ने अपेक्षा पनि राख्दैनन् । बरु हिँड्दाहिँड्दै कसैको घरको आँगनमा पुग्छन्। “के छरु” भन्दै ढोका ढकढक्याउँछन्। घरमा जे पाकेको छ, त्यही दुई–चार गाँस खान्छन्। पानी वा दूधको एक गिलास पिउँछन् र फेरि अर्को गाउँतिर लाग्छन्। बाटोमा दुई–चार जना भेटिए मोटरसाइकल रोकिन्छ । पहिलो शब्द हुन्छ—“नमस्ते।” त्यसपछि सुरु हुन्छ गाउँको कुरा।
कसैलाई खानेपानीको समस्या छ। कसैलाई सडकको। कतै कुलो–कुलेसा बिग्रिएको छ। कतै विद्युत् बारम्बार जाने गुनासो छ, कतै कम भोल्टेजको समस्या छ । किसानले बाली जोगाउन सकेका छैनन्। कतै विद्यालयको समस्या छ।
सबै कुरा सुनेपछि उनी एउटा कुरा भने कहिल्यै गर्दैनन्—झुटो वाचा।
उनी स्पष्ट भन्छन, “संघीय सांसद भएकाले सबै काम म आफैँ गर्न सक्दिनँ। जुन विषय स्थानीय तहको हो, त्यहाँ पहल गर्छु। प्रदेश सरकारको हो भने प्रदेशसँग समन्वय गर्छु। संघ सरकारको विषय हो भने संसद् र सम्बन्धित मन्त्रालयसम्म पुर्याउँछु।”
सायद यही स्पष्टताले धेरैलाई उनको कुरा विश्वासिलो लाग्न थालेको छ।
आमाको अँगालो
केही समयअघि भूमिकास्थान नगरपालिका–७, च्युरामाटीमा एउटा दृश्य घट्यो ।
सावित्रा गैरे बाटोको छेउमा घाँस काटिरहेकी थिइन । एउटा मोटरसाइकल आएर रोकियो। मोटरसाइकल चालकले नमस्ते गरे । उनले पनि मुस्कुराउँदै नमस्ते फर्काए। केहीबेर सामान्य कुराकानी भयो ।
त्यसपछि ती चालकले एउटा अनौठो प्रश्न सोधे “हरिप्रसाद भुसाल भन्ने नाम सुन्नुभएको छ रु”
सावित्रा गैरेको जवाफ सहज थियो “उहाँ त हामीले जिताएको सांसद हो, किन नचिन्नु रु”
त्यसपछि चालक मुस्कुराए । “हो, त्यही मान्छे म हुँ।”
त्यसपछि जे भयो, त्यसको कुनै राजनीतिक स्क्रिप्ट थिएन।
सावित्रा गैरे भावुक भइन, उनले झ्याप्पै अँगालो हालिन र बारम्बार भनिन, “मेरो घरमा जानैपर्छ।”
सांसद भुसाल सहजै घर जान तयार भए । घरको पिँढीमा बसेर बुटवलमा रहेका उनका छोरासँग फोनमा कुरा गरिदिए । र, आमाले माया गरेर दिएको एक गिलास दूध पिए ।
न फोटो खिच्ने हतार थियो, न भाषण गर्ने, न सामाजिक सञ्जालका लागि अभिनय । केहीबेर आत्मीय कुरा भयो । त्यसपछि उनी फेरि मोटरसाइकल स्टार्ट गरेर अर्को गाउँतिर लागे।
सायद त्यो दिन सावित्रा गैरेको घरमा सांसद होइन, आफ्नै छोरा पुगेको अनुभूति भएको थियो।
गुनासा धेरै, अधिकार फरक
भुसाल भन्छन्, गाउँ पुग्दा सबैभन्दा धेरै उठ्ने विषय खानेपानी, सडक, कुलो कुलेसा, सिँचाइ, विद्युत् र स्थानीय विकाससँग सम्बन्धित हुन्छन् । यी मध्ये अधिकांश काम स्थानीय तह वा प्रदेश सरकारको जिम्मेवारीभित्र पर्छन्।
तर नागरिकले समस्या देख्छन्, तह होइन । त्यसैले उनी समस्या सम्बन्धित निकायसम्म पुर्याउने पुल बन्ने प्रयास गर्छन् । कतिपय समस्या त्यही ठाउँबाट समाधान हुन सक्छ।
विद्युतको गुनासो आयो भने विद्युत् कार्यालयमा फोन, विपद्को समस्या आयो भने प्रमुख जिल्ला अधिकारीलाई फोन, वडा वा कार्यालयबाट समाधान हुने विषय आयो भने सम्बन्धित कार्यालयमा तत्काल समन्वय । भुसालका अनुसार अधिकांश सरकारी कार्यालयले पनि जिम्मेवार ढंगले सहयोग गरिरहेका छन्।
“सांसदजी, बाँदर लखेट्न आउनुस्‘”
पछिल्लो समय गाउँमा सबैभन्दा बढी सुनिने गुनासो भने बाँदर र बँदेलको आतंक हो।
बाँदर र बदेलका कारण किसानको वर्ष भरिको मेहनत केही घण्टामै नष्ट हुन्छ। जसले किसान प्रत्यक्ष प्रभावित भएका छन् ।
भुसालका अनुसार धेरै नागरिकले यो राष्ट्रिय स्तरको समस्या भएकाले तत्काल समाधान सम्भव छैन भन्ने यथार्थ बुझ्छन्।
तर पीडा ठूलो हुँदा कहिलेकाहीँ आक्रोश पनि पोखिन्छ। “सांसदजी, बाँदर लखेट्न आइदिनुस्‘” कहिलेकाहीँ यस्ता अप्रिय शब्द पनि सुन्नुपर्छ। तर उनी त्यसलाई अपमान होइन, किसानको पीडाको आवाज ठान्छन्।
राजनीति कि जिम्मेवारी ?
भुसालसँग अर्को चिन्ता पनि छ।
उनी भन्छन, “सकेसम्म मितव्ययी बन्न खोज्दाखोज्दै पनि चुनावमा खर्च बढी भयो। अहिले पनि बिलहरू आइरहेका छन्। पाँच वर्षमा सरकारले दिने सेवा–सुविधाबाट चुनावको खर्च तिर्न पनि सक्दिनँ कि भन्ने चिन्ता छ। तर त्योभन्दा ठूलो चिन्ता एउटा छ—अन्जानमै भए पनि राज्यको एक रुपैयाँ पनि दुरुपयोग नहोस्।”
यो भनाइमा राजनीति कम, जिम्मेवारी बढी सुनिन्छ।
आज धेरै नागरिक राजनीतिप्रति निराश छन्। जनप्रतिनिधिमाथि विश्वास घटेको गुनासो व्यापक छ। यस्तो समयमा गाउँ–गाउँ मोटरसाइकलमा पुगेर जनताको ढोका ढकढक्याउने, उनीहरूको कुरा सुन्ने र आफ्नो अधिकारको सीमाभित्र रहेर इमानदारीपूर्वक पहल गर्ने शैलीले एउटा फरक सन्देश दिएको छ।
राजनीतिक मत फरक हुन सक्छ । समर्थक र विरोधी दुवै हुन सक्छन् । तर एउटा कुरा अस्वीकार गर्न गाह्रो छ । जनताको घरसम्म पुग्ने बाटो संसद्को गेटबाट होइन, गाउँको चोकबाट सुरु हुन्छ ।
सायद यही कारणले अर्घाखाँचीका धेरै गाउँमा अहिले एउटा वाक्य सुनिन थालेको छ, “सांसद आउँदा औपचारिक कार्यक्रम हुँदैन, आफ्नै मान्छे घर आएको अनुभूति हुन्छ।”
सायद लोकतन्त्रको सबैभन्दा सुन्दर तस्वीर पनि यही हो ।

