सुनसरी घटनामा घाइते भएका अर्का युवकको उपचारको क्रममा मृत्यु

विराटनगर । गत आइतबार सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ ।

विराटनगर न्युरो अस्पतालमा उपचारका क्रममा मेहताको मृत्यु भएको हो । जयप्रकाशको पेटमा गोली लागेको थियो । गत सोमबार उनको शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

यसअघि आइतबार राति भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्‍याइएलगत्तै राति १०:४० बजे मृत्यु भएको थियो । उनको शव पनि अझै अस्पतालमै रहेको प्रहरीले जनाएको छ । 

कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए । आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।