काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रीलंकाविरुद्ध हुने दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । आगामी अगस्ट १५ देखि सुरु हुने सिरिजमा भारतको कप्तानी शुभमन गिलले गर्नेछन् भने केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
घोषित टोलीमा सबैभन्दा ठूलो आकर्षण अलराउन्डर सारांश जैनको छनोट बनेको छ । घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गरेका उनले पहिलोपटक भारतीय सिनियर टेस्ट टोलीमा स्थान बनाउन सफल भएका हुन् ।
विकेटकिपरका रूपमा ऋषभ पन्त र ध्रुव जुरेल टोलीमा रहेका छन् । यस्तै, यशस्वी जायसवाल, साई सुदर्शन र देवदत्त पडिक्कललाई पनि टोलीमा समावेश गरिएको छ । अलराउन्डरतर्फ रविन्द्र जडेजा, कुलदीप यादव र मानव सुथारले स्थान पाएका छन् ।
बोर्डले वासिङ्टन सुन्दर पहिलो टेस्टका लागि उपलब्ध नभएकाले उनलाई टोलीमा नराखिएको जनाएको छ ।
तीव्र गतिका बलर जसप्रित बुमराहले बलिङ आक्रमणको नेतृत्व गर्नेछन् । उनीसँगै मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र गुरनूर बराडलाई पनि टोलीमा समावेश गरिएको छ ।
यद्यपि, बोर्डले जसप्रित बुमराह र साई सुदर्शनको छनोट फिटनेसको सर्तमा गरिएको स्पष्ट पारेको छ । उनीहरूले बोर्डको फिटनेस स्वीकृति पाएपछि मात्र सिरिज खेल्न पाउनेछन्।
भारतले पछिल्लो टेस्ट अफगानिस्तानविरुद्ध खेलेको थियो । त्यस टोलीमा रहेका नितीश रेड्डी, हर्ष दुबे र वासिङ्टन सुन्दर यसपटक बाहिरिएका छन् ।
यस्तै, अनुभवी अलराउन्डर रविन्द्र जडेजा लामो अन्तरालपछि टेस्ट टोलीमा फर्किएका छन् । उनले आफ्नो पछिल्लो टेस्ट गत वर्ष नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए भने यस वर्ष जनवरीपछि कुनै अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । बुमराह पनि टोलीमा फर्किएका भए पनि उनको सहभागिता फिटनेस परीक्षणपछि मात्र टुङ्गो लाग्नेछ ।
भारत र श्रीलंकाबीचको पहिलो टेस्ट अगस्ट १५ देखि २० सम्म गालमा हुनेछ । दोस्रो तथा अन्तिम टेस्ट अगस्ट २३ देखि २७ सम्म कोलम्बोमा खेलाइने तालिका रहेको छ ।
भारतीय टिम: कप्तान शुभमन गिल, उपकप्तान केएल राहुल, यशस्वी जायसवाल, ऋषभ पन्त, साई सुदर्शन, ध्रुव जुरेल, रविन्द्र जडेजा, कुलदीप यादव, मानव सुथार, जसप्रित बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, गुरनूर बराड, देवदत्त पडिक्कल र सारांश जैन ।

