आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले ठूला नदीहरू हाल सतर्कता तहभन्दा तल रहे पनि धेरै नदीमा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली तथा तिनका सहायक नदी, साथै कन्काई, कमला, बबई, पूर्व राप्ती, पश्चिम राप्तीलगायत नदीहरूमा आगामी तीन दिनसम्म पानीको बहाव बढ्ने अनुमान गरिएको छ। यद्यपि यी नदीको जलस्तर सतर्कता तहभन्दा तल नै रहने जनाइएको छ ।

आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य रूपमा बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने चेतावनी दिइएको छ ।

त्यसैगरी सोमबार र मङ्गलबार पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले नदी किनार, होचा भूभाग तथा बाढीको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, अनावश्यक रूपमा नदी तर्न वा नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न अनुरोध गरेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।