गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

रौतहट, ३१ असार। रौतहटको सदरमुकाम गौर नगरपालिका–५ स्थित ऐतिहासिक बरहवा तालमा निर्माण गरिएको आकर्षक सेल्फी प्वाइन्ट उद्घाटन गरिएको छ। 

पर्यटन विकास कार्यालय रौतहटको पहलमा निर्माण गरिएको उक्त संरचनाले गौरको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेल्फी प्वाइन्टको औपचारिक उद्घाटन गरिएको हो।


कार्यक्रममा सिडियो भुषालसँगै रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, पर्यटन कार्यालय गौरकी प्रमुख बबिता जयसवाल,स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी, पर्यटनसँग सरोकार राख्ने व्यक्तित्व तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

पर्यटन विकास कार्यालय रौतहटकी प्रमुख जैसवालका अनुसार प्रदेश सरकारको भ्याटबाहेक ४ लाख २० हजार रुपैयाँ लागतमा सेल्फी प्वाइन्ट निर्माण गरिएको हो। उनका अनुसार बरहवा तालको ऐतिहासिक तथा प्राकृतिक महत्वलाई थप उजागर गर्दै आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले यो संरचना निर्माण गरिएको हो।


बरहवा ताल गौरको पहिचानसँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल मानिन्छ। पछिल्लो समय तालको सौन्दर्यीकरणसँगै यहाँ घुम्न आउनेको संख्या बढ्दै गएको अवस्थामा सेल्फी प्वाइन्टले युवापुस्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई थप आकर्षित गर्ने विश्वास गरिएको छ।


स्थानीयवासीका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्र भएकाले भारतीय बजार बैरगनिया तथा आसपासबाट समेत ठूलो संख्यामा पर्यटक भित्र्याउने सम्भावना रहेको छ। उनीहरूका अनुसार सामाजिक सञ्जालमा तस्वीर र भिडियो साझा गर्ने प्रवृत्ति बढेसँगै यस्ता आकर्षक संरचनाले पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा सकारात्मक भूमिका खेल्नेछ।

पर्यटन क्षेत्रका जानकारहरूका अनुसार पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन। बरहवा ताललाई दीर्घकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नियमित सरसफाइ, हरियाली संरक्षण, पर्याप्त प्रकाश व्यवस्था, सुरक्षाको प्रबन्ध, पार्किङ, विश्रामस्थल तथा मनोरञ्जनका थप पूर्वाधार निर्माण आवश्यक छ।


सीमावर्ती जिल्ला भएकाले गौरमा भारतीय पर्यटक भित्र्याउने पर्याप्त सम्भावना रहेको छ। यदि स्थानीय, प्रदेश सरकार र पर्यटन कार्यालयले संयुक्त रूपमा योजनाबद्ध ढंगले प्रचार–प्रसार तथा पूर्वाधार विस्तार गर्न सके बरहवा ताल रौतहटकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ।


सेल्फी प्वाइन्ट उद्घाटनलाई स्थानीयले गौरको पर्यटन विकासतर्फको सकारात्मक सुरुआतका रूपमा लिएका छन्। अब यसको प्रभावकारिता भने तालको समग्र व्यवस्थापन, संरक्षण र पर्यटनमैत्री वातावरण निर्माणमा निर्भर रहने देखिन्छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।