उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौँ चीन-सिजाङ ट्रान्स हिमालय मञ्चमा सहभागी हुन बुधबार बिहान चीन प्रस्थान गरेको छ ।

उपसभामुख रुवी कुमारी आज बिहान सिचुवान वायुसेवाको उडानमार्फत चीनको निङ्ची सहरतर्फ प्रस्थान गरेकी हुन् । प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर कार्यक्रमकर्ता अनिशा ढकाल रहेका छन् ।

आजदेखि साउन १ गतेसम्म (जुलाई १५ देखि १७) सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा चीनको स्वायत्त सिजाङ क्षेत्रको लिन्ची सहरमा उपसभामुख र चिनियाँ कम्युनिष्ट पार्टीको सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । साथै अन्य उच्चस्तरीय भेटघाटसमेत हुने जनाइएको छ ।  प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।