परराष्ट्रमन्त्री खनालद्वारा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

प

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलन २०२६ को प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले हिमाली क्षेत्रको संरक्षणलाई विश्वकै साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका हुन् ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट अनुमानित ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको क्षति भएको उल्लेख गर्दै मन्त्री खनालले हिमाली पारिस्थितिक प्रणाली जोखिममा रहेको बताए । उनले जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानी सम्बोधन गर्न नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रारम्भिक निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे ।

आगामी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा नेपालले हिमाली क्षेत्रलाई विशेष प्राथमिकता दिने, क्षति तथा नोक्सानीसम्बन्धी सहायता कार्यान्वयन गर्ने, सहज रूपमा जलवायु वित्त उपलब्ध गराउने र जलवायु न्याय सुनिश्चित गर्ने विषय उठाउने उनले बताए ।

मन्त्री खनालले जलवायु वित्त अनुदानमा आधारित, नियमित र सहज पहुँचयोग्य हुनुपर्नेमा जोड दिँदै ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणाअनुसार राष्ट्रिय स्तरमा समन्वय गरेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साझा आवाज बलियो बनाउनुपर्ने बताए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।