उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज

उ

लमजुङ, २८ असारः सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण भएको छ ।

बेँसीसहरका बाबुलाल श्रेष्ठ पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा यात्रा सुरक्षित र सहज बनेको बताउनुहुन्छ । “गत वर्ष बर्खामा पटकपटक समस्या झेल्नु परेको थियो । कतिबेला माथिबाट ढुङ्गा खस्छ भन्ने डर हुन्थ्यो । अहिले भने निर्धक्क भएर यात्रा गर्न सकिन्छ । सडक राम्रो भएको छ, पहिरोको त्रास पनि छैन,” उहाँले भन्नुभयो ।

उक्त सडकमा नियमित रुपमा सवारी सञ्चालन गर्दै आउनुभएका नारायण घिमिरे पनि उदिपुर क्षेत्रमा निर्भयका साथ गाडी चलाउन पाएकामा खुसी हुनुहुन्छ । उदिपुर क्षेत्रमा पहिरो नियन्त्रण नहुँदा हरेकदिनजसो सवारीसाधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाने गर्दथे ।

डुम्रे–बेँसीसहर सडक लमजुङ मात्र नभई मनाङलाई पनि जोड्ने मुख्य मार्ग हो । यही सडकले अन्नपूर्ण चक्रीय पदमार्गलाई जोडेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।