उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

हेटौँडा (मकवानपुर), २८ असारः हेटौँडा–५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन । अहिले अवस्था फेरिएको छ । त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद्यम सञ्चालनका लागि उहाँकै सहयोग खोज्छ ।

सामान्यतया कामकाजी भन्नेबित्तिकै सफा पोशाक, सुविधासम्पन्न कार्यालय, कम्प्युटर, फाइल र मासिक तलबको कल्पना गरिन्छ । तर विष्णुकुमारीको कार्यस्थल भने काठको धुलोले भरिएको कार्यशाला हो । बिहान घरधन्दा सकेपछि उहाँ काठका मुडा, फल्याक र अन्य सामग्रीमा सुन्दर बुट्टा कुँद्न थाल्नुहुन्छ । बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म विष्णुकुमारीको समय सिर्जनात्मक श्रममै बित्छ ।

दैनिक हजारौँ युवा रोजगारीको खोजीमा विदेशिइरहेका बेला महिलाले काठको काम गरेर जीवन धान्नु अझै पनि धेरैका लागि नौलो विषय हो । तर विष्णुकुमारीका लागि यही श्रम सम्मान, आत्मविश्वास र पहिचान बनेको छ । दिनभरि शरीर थाके पनि उहाँको मन भने नयाँ सृजना गर्ने उत्साहले भरिएको हुन्छ ।

“रात बितेर बिहान कहिले हुन्छ र फेरि काममा फर्कन पाइन्छ भन्ने लागिरहन्छ”, विष्णुकुमारी मुस्कुराउँदै भन्नुहुन्छ । एक समय उहाँको दैनिकी घरधन्दा, गाईवस्तुको स्याहार, घाँसदाउरा र सोत्तर बोक्नमै सीमित थियो । पिप्लेपोखरा सामुदायिक वन उहाँका लागि घाँस र दाउराको स्रोतमात्रै थियो । तर सामुदायिक वनले हरित रोजगारी र वनमा आधारित उद्यम विकासको अवधारणा अघि सारेपछि विष्णुकुमारीको सोचमात्र होइन, जीवन नै बदलियो । घाँसदाउरा बोकेका ती हातले अहिले काठका मुडा, फल्याक र काष्ठ हस्तकलाका आकर्षक सामग्री सृजना गर्छन् । सुरुमा महिलाले पनि काठको काम गर्न सक्छन् भन्ने विश्वास उहाँलाई स्वयंलाई थिएन ।

तर एक दिन सामुदायिक वनमार्फत महिलालाई उद्यमी बनाउने उद्देश्यले काष्ठ हस्तकलाको तालिम सञ्चालन हुने जानकारी पाएपछि विष्णुकुमारीको जीवनले नयाँ मोड लियो । त्यो दिन आवश्यक्तासँगै रहरले सुरु गरेको तालिम नै उहाँको भविष्य बन्यो । तालिमपछि उहाँले काष्ठ हस्तकलालाई व्यवसायका रूपमा अघि बढाउने निर्णय गर्नुभयो । अहिले विष्णुकुमारीको नेतृत्वमा सञ्चालित ‘श्रमजीवी महिला काष्ठ हस्तकला लघुउद्यम’ले सामूहिक रूपमा सामग्री उत्पादन गर्दै राम्रो आम्दानी गरिरहेको छ ।

‘एकले थुकी सुकी, हजारले थुकी नदी’ उखान सम्झँदै उहाँ भन्नुहुन्छ, “हामी समूहमा काम गर्छौँ । एउटाको सीप अर्कोको बल बन्छ । त्यसैले हाम्रो उत्पादन पनि बढेको छ र आम्दानी पनि ।” उहाँहरूको समूहले वनमा खेर जाने विभिन्न प्रकारका काठलाई उपयोग गरेर ढोकाका बुट्टा, फोटो फ्रेम, घण्टी फ्रेम, उपहार सामग्री, सजावटका सामग्री, फर्निचरमा प्रयोग हुने कलात्मक डिजाइन, बक्स, पलङका बुट्टालगायत दर्जनौँ सामग्री उत्पादन गर्दै आएको छ ।

अस्मिता नेपालले एपीएफ नेटको सहयोगमा प्रदान गरेको तालिमले उहाँहरूलाई सीप सिकाउनेमात्र होइन, उद्यम सञ्चालन गर्ने आत्मविश्वास पनि दियो । त्यसपछि आवश्यक उपकरण र थप सीप विकासका अवसर पनि प्राप्त भए । पछिल्ला वर्षहरूमा ग्रिन फाउन्डेसन नेपालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागी गराउँदै बजार विस्तारमा महत्त्वपूर्ण सहयोग गरेको विष्णुकुमारी बताउनुहुन्छ । त्रिचालीस वर्षीया राई जिज्ञासु र सिक्न चाहने स्वाभावकी हुनुहुन्छ । अहिले विभिन्न सङ्घसंस्था तथा स्थानीय तहबाट तालिम सञ्चालनका लागि उहाँलाई प्रशिक्षकका रूपमा निमन्त्रणा आउन थालेको छ । आफूले सिकेको सीप अब अरू महिलालाई सिकाउन पाउँदा झन् खुसी लाग्ने उहाँ बताउनुहुन्छ ।

विष्णुकुमारी भन्नुहुन्छ, “सुरुमा त मलाई धेरैले हाँसोको पात्र बनाए । महिलाले काठको काम गर्न सक्दैनन् भन्ने धारणा थियो, आफ्नै परिवारलाई पनि विश्वास लाग्दैनथ्यो, तर अहिले त्यहीँ मानिसहरूले मेरो कामको प्रशंसा गर्छन् ।” उहाँका अनुसार इच्छाशक्ति, निरन्तर अभ्यास र अवसर पाए महिलाले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन् । अहिले उहाँहरूको उत्पादन काठमाडौँसहित देशका विभिन्न सहर, कोसेलीघर तथा विभिन्न सङ्घसंस्थामार्फत बिक्री हुने गरेको छ ।

विष्णुकुमारीको सफलताको अर्को महत्त्वपूर्ण आधार पिप्लेपोखरा सामुदायिक वन पनि हो । सामुदायिक वनले अहिले पनि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउँदै आएको छ । वनले महिलालाई घाँस–दाउराको उपभोक्ताबाट हरित उद्यमी बनाउने अभियान सफलतापूर्वक सञ्चालन गरेको उहाँको अनुभव छ । पछिल्लो समय हेटौँडा उपमहानगरपालिकाको सहयोगले उद्यमलाई थप विस्तार गर्न सहज भएको विष्णुकुमारी बताउनुहुन्छ ।

हेटौँडा उपमहानगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरेपछि सयौँ महिलाको जीवनमा यस्तै परिवर्तन आएको छ । घरभित्र सीमित रहेका महिला अहिले आफ्नै उत्पादन बजारमा बिक्री गरिरहेका छन्, समूह सञ्चालन गरिरहेका छन् र परिवारको आर्थिक आधार बलियो बनाइरहेका छन् । उद्योग शाखाका अनुसार उपमहानगरपालिकाले हालसम्म आठ सयभन्दा बढी व्यक्तिलाई विभिन्न प्रकारका उद्यमशीलता तथा सीपमूलक तालिम प्रदान गरेको छ । तीमध्ये २६८ जना सक्रिय रूपमा उद्यम सञ्चालन गरिरहेका छन् ।

अधिकांश उद्यममा महिलाको उल्लेखनीय सहभागिता रहेको छ । ‘एक वडा, एक उद्यम’ अवधारणाअन्तर्गत हेटौँडा–१२ मा अग्र्यानिक गुन्द्रुक उत्पादन, वडा नं ६ मा दालमोठ उद्योग, वडा नं ८ मा वनजन्य कच्चा पदार्थमा आधारित धूप उद्योग, वडा नं ५ मा काष्ठ हस्तकला तथा वडा नं १८ मा बेसारखेती तथा प्रशोधन उद्योग सञ्चालनमा छन् । यी उद्यमले स्थानीय उत्पादनलाई व्यावसायिक रूप दिँदै रोजगारी, आयआर्जन र आत्मनिर्भरताको नयाँ आधार निर्माण गरेका छन् ।

उपमहानगरले सीप विकासमा मात्र सीमित नरही उद्योग दर्ता, ब्रान्डिङ, प्याकेजिङ, खाद्य अनुज्ञापत्र, प्रदर्शनी सहभागिता तथा बजार विस्तारमा समेत सहजीकरण गरिरहेको छ । त्यसको प्रत्यक्ष लाभ महिलाले पाएका छन् । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले निर्वाचनताका घोषणा गर्नुभएको महिला उद्यम विकासको प्रतिबद्धता अहिले व्यवहारमै देखिन थालेको छ । स्थानीय स्रोतलाई बजारसँग जोड्ने नीति, सीप विकास, सरकारी लगानी र बजार पहुँचको प्रभावकारी संयोजनले हेटौँडाका महिलालाई आत्मनिर्भर उद्यमीका रूपमा स्थापित गरिरहेको छ ।

विष्णुकुमारी त्यसै परिवर्तनको सशक्त उदाहरण हुनुहुन्छ । एक समय घाँस–दाउरा बोकेर घर फर्किने उहाँ आज आफ्नै सीपले उद्यम सञ्चालन गर्ने, अन्य महिलालाई रोजगारी दिने र प्रशिक्षकका रूपमा नयाँ पुस्तालाई प्रेरणा बाँड्ने स्थानमा पुग्नुभएको छ । उहाँको यात्रा केवल एउटा महिलाको सफलता होइन, अवसर, सीप र आत्मविश्वासले जीवन कसरी बदल्न सक्छ भन्ने प्रेरणादायी कथा पनि हो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।