अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ, २६ असारः शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनुभयो ।

मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ ।

उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमावली लागू गरिएको हो । यसअन्तर्गत मुलुकमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुने उक्त मन्त्रालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।