काठमाडौं । संघीय संसद्को दुवै सदनबाट पारित भएका चार वटा महत्त्वपूर्ण विधेयकले राष्ट्रपतिको प्रमाणीकरण पाएसँगै कानुनी कार्यान्वयनतर्फ अघि बढ्ने बाटो खुलेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संसद्ले पारित गरी प्रमाणीकरणका लागि पठाइएका चार विधेयक शुक्रबार प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यी विधेयकले ऐनको रूप लिने संवैधानिक प्रक्रिया पूरा गरेका छन्। अब सम्बन्धित कानुनी प्रक्रिया सम्पन्न भएपछि संशोधित व्यवस्थाहरू कार्यान्वयनमा आउनेछन्।

