जुम्ला, २५ असारः भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा ९० योजना सम्पन्न गरेको छ । कार्यालयले पहिरो रोकथाम, तटबन्ध तथा बाँध निर्माण र खोला किनारा संरक्षणका योजना पूरा गरेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
कार्यालयले हुम्लामा ३२, मुगुमा २८, डोल्पामा आठ, जुम्लामा २० र कालीकोटमा दुई योजना निर्माण भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । ती योजना उपभोक्ता समितिबाट सम्पन्न भएका हुन् । पाँचवटै जिल्लाका ९० योजनामध्ये जुम्लामा तीन र डोल्पामा एक योजना निर्माण पूरा भएको प्रमुख भण्डारीले उल्लेख गर्नुभयो ।
कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा भने कठिनाइ भएको छ । कुल १७ वटा स्थायी दरबन्दीमध्ये १३ वटामात्र पदपूर्ति भएको छ । प्राविधिक तहअन्तर्गत इञ्जिनियर साताँै र आठाँै तहको कर्मचारीको पदपूर्ति नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको छ ।
पाँचवटै जिल्लाका योजना अनुमगन गर्न प्राविधिक कर्मचारीको अभावले सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न समस्या भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ ।

