वन अधिकृत यादव घुससहित पक्राउ

काठमाडौँ, २४ असारः सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उहाँलाई सेवाग्राहीसँग नगद रु १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

विशेष सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले वन अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगका अनुसार यादवले सिरहाको एक उद्योगको लागि ल्याएको काठ सिलबन्दीअनुसार भए÷नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भनी उजुरी परेको थियो ।

आयोगको उक्त टोलीले प्रमुख यादवको साथबाट स्रोत नखुलेको रु एक लाख ३३ हजार १२० पनि बरामद भएको जनाएको छ । टोलीले निज यादवलाई आज कर्जन्हा नगरपालिका– ४ स्थित मिर्चौयाबाट बन्दीपुर जाँदै गर्दा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।