सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म (कालीकोट), २४ असारः स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । माल्कोट गाउँको धाँचुकोटमा गच्चेकाटिया सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।

रातिमाटादेखि धाँचुकोटसम्म सिँचाइ कुलो निर्माण भएपछि विगतमा सिँचाइ सुविधा नभएको बाँझो जमिनमा बालीनाली लगाउन थालिएको छ ।

खानेपानी तथा ऊर्जा विकास कार्यालय कालीकोटको आर्थिक लगानीमा पक्की सिँचाइ कुलो निर्माण भएको नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण रानामगरले बताउनुभयो ।

“सिँचाइ कुलो निर्माणका लागि खानेपानी तथा ऊर्जा विकास कार्यालयको रु २० लाख लगानी भएको छ”, उहाँले भन्नुभयो, “सिँचाइ कुलो निर्माणले माल्कोट गाउँको सयौँ हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको छ ।”

वर्षौँदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको स्थानीय रामबहादुर बटालाले बताउनुभयो । “सिँचाइ कुलो निर्माण भएपछि पहिलाको जस्तो जग्गा बाँझो राख्नुपरेको छैन”, उहाँले भन्नुभयो, “अहिले तरकारीखेती, अन्नबाली समयमा लगाउनका लागि सहज भएको छ ।”

सिँचाइ कुलो निर्माणले गाउँको उत्पादनसमेत वृद्धि हुने गच्चेकाटिया सिँचाइ कुलो निर्माण योजनाका अध्यक्ष ध्रुवबहादुर शाहीले बताउनुभयो । “यसबाट करिब एक हजार घरपरिवार लाभान्वित भएका छन् । पाँच सय मिटर लामो सिँचाइ कुलो निर्माण भएको छ”, उहाँले भन्नुभयो, “सिँचाइ कुलो निर्माणका लागि अझै केही लगानी कम भएको छ ।”

सिँचाइ कुलो नहुँदा जमिन बाँझो राख्नुपर्ने समस्या रहेको अब कुलो निर्माणसँगै त्यो समस्या हटेकोे वडाध्यक्ष खाम्मबहादुर बटालाले बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।