कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म (कालीकोट), २२ असारः विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा ‘विषादी जोखिम न्यूनीकरण’ अभियान सञ्चालन गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर र बजार अनुगमनलाई तीव्रता पार्दै यहाँ ‘विषादी जोखिम न्यूनीकरण’ अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएको छ । रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर देखिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा रत्नवीर सुनारले बताउनुभयो ।

“विषादीका कारण क्यान्सर, कलेजो तथा मिर्गौलामा क्षति, ट्युमर, प्रजननसम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, छालामा एलर्जी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गरेको छ”, उहाँले भन्नुभयो । विषादी नियन्त्रण गर्दै सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्य उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्न तत्तत् निकायसँग सहकार्य आवश्यक रहेको जिल्ला समन्वय प्रमुख धनजितबहादुर शाहीले बताउनुभयो ।

“जैविक विविधताको संरक्षण, स्वस्थ जीवनशैलीको विकास र जनचेतना अभिवृद्धिका लागि विषादी व्यवस्थापनसम्बन्धी अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । विषादीको प्रयोग हुन नदिन र पोषण प्रवर्द्धनलाई प्रभावकारी बनाउन स्थानीय तह, कृषि तथा स्वास्थ्य क्षेत्रसँग समन्वय गरी समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको खाडाँचक्र नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुव बरालले बताउनुभयो ।

“विषादीका प्रयोग रोक्नका लागि जनचेतनामूलक अभियान र ओसारपसारमा कडाइ गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले खाद्यबालीमा जथाभावी विषादीको प्रयोग नगर्न अभियानमार्फत सबैलाई आग्रह गर्नुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।