कुवा संरक्षण चारकुनेवासी

तनहुँ, २२ असारः व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण र जगेर्नामा लागेका छन् ।

वर्षौंदेखि गाउँको मुख्य खानेपानी स्रोतका रूपमा रहेको पड्के पानी कुवा मर्मत एवं संरक्षण कार्यमा स्थानीयले सामूहिक श्रमदान गरेका हुन् ।

कुवाको सरसफाइ, मर्मतसम्भार तथा वरपरको वातावरण संरक्षणका लागि स्थानीयले सामूहिक रुपमा पाँच दिनसम्म श्रमदान गरेका पड्के पानी कुवा मर्मत एवं संरक्षण समितिका अध्यक्ष एसबी नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँका ज्येष्ठ नागरिकदेखि युवा र महिलासम्मको सक्रिय सहभागिताले संरक्षण अभियानलाई थप प्रभावकारी बनाएको छ । पछिल्लो समय समुदायमा गरिने विकास निर्माण तथा सरसफाइलगायतका कार्यमा स्थानीयवासीले सक्रियता देखाउँदै आएका छन् ।

कुवाको पानी स्वच्छ र सुरक्षित राख्न नियमित सरसफाइ, घेराबार निर्माण तथा फोहर व्यवस्थापनमा विशेष ध्यान दिइएको चारकुने टोल विकास संस्थाकी अध्यक्ष भगवती पण्डितले बताउनुभयो ।

पानी चिसो र मिठो भएकाले करिब दुई किमी दूरीमा रहेको सदरमुकाम दमौलीबाट समेत मानिस पानी लिन आउने गरेको इतिहास सुनाउँदै उहाँले भन्नुभयो, “गत वर्षको बाढीले कुवामा क्षति बनाएपछि यस वर्ष कुवालाई संरक्षण गर्दै धारा निर्माण कार्य थालिएको हो ।”

व्यास नगरपालिकाले यस वर्ष कुवा मर्मत एवं संरक्षणका लागि रु ७५ हजार बजेट विनियोजन गरे पनि उक्त रकमले निर्माण सम्पन्न गर्न चुनौती भएपछि स्थानीयवासी श्रमदानमा जुटेका हुन् ।

प्राकृतिक पानीका स्रोतको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले यस्ता सम्पदाको संरक्षण र सम्बद्र्धनमा नगरपालिकाले प्राथामिकता दिँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

कुवाको संरक्षणसँगै स्वच्छ खानेपानीको सुनिश्चितता हुने र आगामी पुस्ताका लागि पनि स्रोत सुरक्षित रहने स्थानीयको विश्वास छ । उक्त टोलमा हाल ६० घरपरिवार रहेको बताइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।