घाँसको बीउ उत्पादन

राँझा (बाँके),२२ असारःबाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ ।

चालु आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रजातीका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय पशु प्रजनन् कार्यालयबाट उत्पादन भएको घाँसको बीउ १९ हजार २ सय २६ किलो किसानलाई बिक्रीवितरण गरिएको छ । कार्यालयमा एक हजार ७ सय ९० किलो खपत भई ११ हजार ४ सय ३ केजी घाँसको बीउ बाँकी रहेको छ ।

कार्यालयले बर्सिम, जै, भेच, टियोसेन्टी, ज्वाइन्ट भेच स्टाइलो कुक्स, नेपियर लगायतको घाँस र बडहर, टाँकी, कोइरालो, इपिलइपिल, किम्बु मेन्डोला लगायतको डालेघाँसको बीउ तथा विरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको छ ।

चालु आर्थिक वर्षमा घाँसको बीउ तथा हरियो घाँस बिक्री गरेर रु. २० लाख ४७ हजार ७०४ आम्दानी गरेको छ । कार्यालयले विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण हुँदै आएको वरिष्ठ पशु विकास अधिकृत डा. खनालले जानकारी दिनुभयो ।

खजुरा–२ गौघाटमा करिव ३४ दशमलव ४ हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रिय पशु प्रजनन् कार्यालयले व्यावसायीक रुपमा घाँसको बीउ खेती गरी किसानलाई बिक्री वितरण गर्दै आएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले बताउनुभयो ।

अहिले घाँसको बीउ छर्ने र बिरुवा रोप्ने काम भईरहेको छ । वर्षाद् नभएका कारण यो वर्ष घाँसको बीउ छर्न र बिरुवा रोप्न केही ढिलाई भएको जैसीले जानकारी दिनुभयो । राष्ट्रिय पशु प्रजनन् कार्यालय २०३६ सालमा भैँसी फाराम (बुल सेन्टर) का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७ औँ वर्ष प्रवेश गरेको छ ।

यो कार्यालयले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह गरिरहेको छ । कार्यालयबाट विभिन्न जातका घाँसका बिउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण गर्दै आएको जैसीले बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।