साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

खोटाङ, २२ असारः साकेला गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, विद्यालय तथा पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ ।

गाउँपालिकाको कार्यालय मात्तिम मानेभन्ज्याङमा आइतबार आयोजित कार्यक्रममा शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, प्रतिशतको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा जिल्लामा क्रियाशील एक पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो ।

एसइईमा गाउँपालिकाभित्र सबैभन्दा बढी ३.१८ जिपिए प्राप्त गर्दै प्रथम हुने सरस्वती माध्यमिक विद्यालय मात्तिमकी छात्रा कृषा राईलाई नगद रु ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै, ३.१५ जिपिए प्राप्त गरी दोस्रो हुने चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँकी छात्रा मार्टिना राईलाई नगद रु ३० हजार तथा ३.१२ जिपिए प्राप्त गर्ने सोही विद्यालयका छात्र दीपसुहाङ राईलाई नगद रु २० हजार, ३.०७ जिपिए प्राप्त गर्ने बालबालिका माध्यमिक विद्यालय नौलाखर्ककी छात्रा पविना राई र राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाकी छात्रा सन्धिका राईलाई जनही रु पाँच–पाँच हजार प्रदान गरिएको छ ।

विद्यालयतर्फ एसइई परीक्षामा सहभागी विद्यार्थीको उत्तीर्ण प्रतिशतका आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पनि नगदसहित पुरस्कृत गरिएको छ । एसइई दिएका दिएका विद्यार्थीमध्ये ८८.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर प्रथम हुने सरस्वती माध्यमिक विद्यालय मात्तिमलाई नगद रु ५० हजार, ७२.७२ प्रतिशत उत्तीर्ण गराएर दोस्रो हुने राधाकृष्ण मावि बाँझेच्यानडाँडालाई नगद रु ३० हजार, ६२.०२ प्रतिशत उत्तीर्ण गराएर तेस्रो हुने सिद्धेश्वरी मावि खिदिमालाई नगद रु २० हजार तथा ५७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर सान्त्वना स्थान हासिल गर्ने साकेला मावि रतन्छालाई नगद रु १० हजारसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभयो ।

गाउँपालिकाले समायोजन खबर मिडिया ग्रुप खोटाङका सञ्चालक एवं नेपाल पत्रकार महासङ्घ खोटाङका उपाध्यक्ष चिसाङ शेर्पालाई समेत पुरस्कृत गरेको छ । उहाँलाई गाउँपालिकाले नगद रु २५ हजार राशिको पुरस्कार प्रदान गरेको हो । पुरस्कृत विद्यार्थी, विद्यालय तथा पत्रकारलाई गाउँपालिकाका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत अर्जुनकुमार राईले पुरस्कृत गर्नुभएको हो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।