सिमकोट (हुम्ला), १९ असारः पछिल्लो समय नेपालमा किशोर–किशोरी उमेर समूहमा लागुऔषध दुव्र्यसन, लैङ्गिक हिंसा, आत्महत्या तथा सामाजिक सञ्जालको दुरुपयोगका घटनामा वृद्धि हुँदै गएपछि हुम्लामा विद्यालयस्तरबाटै सचेतना फैलाउने अभियान सुरु गरिएको छ ।
यही उद्देश्यलाई आत्मसात् गर्दै जिल्ला स्वास्थ्य सेवा कार्यालय, हुम्लाअन्तर्गतको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (इऋःऋ) को आयोजनामा खार्पुनाथ गाउँपालिका–५ मान्धारा माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य अभियान सञ्चालन गरिएको छ । उक्त अभियानमा मान्धारा माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत ६७ किशोर–किशोरी सहभागी छन् ।
कार्यक्रममा विद्यार्थीलाई विद्यालय शिक्षा मात्र नभई जीवनमा आइपर्ने सामाजिक तथा मानसिक चुनौतीसँग कसरी जुध्ने भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले किशोरावस्था जीवनको संवेदनशील चरण भएकाले यही उमेरमा सही मार्गदर्शन आवश्यक पर्ने बताउनुभयो । उहाँले लैङ्गिक हिंसाका विभिन्न स्वरूप, त्यसबाट बच्ने उपाय, किशोर–किशोरीका अधिकार तथा हिंसाको सामना गर्नुपरेमा कानुनी र संस्थागत सहयोग कसरी लिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उहाँले भन्नुभयो, “हिंसा सहेर बस्नु समाधान होइन । हिंसाविरुद्ध बोल्न सक्ने साहस र सही निकायमा पुग्ने जानकारी प्रत्येक किशोर–किशोरीसँग हुनुपर्छ ।”
प्रहरी सहायक निरीक्षक शोभा गिरीले लागुऔषध दुव्र्यसनका कारण हुने स्वास्थ्य, शिक्षा, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे जानकारी गराउँदै किशोरावस्थामा गलत सङ्गत र क्षणिक रहरले जीवनभर पछुताउनुपर्ने अवस्था सिर्जना हुनसक्ने बताउनुभयो । लागुऔषधको प्रयोगले व्यक्तिको भविष्य मात्र नभई परिवार र समाजलाई गम्भीर असर पार्ने भएकाले त्यसबाट टाढा रहन उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सामाजिक सञ्जालको दुरुपयोगबाट हुने साइबर बुलिङ, अनलाइन ठगी, गलत सूचना, अश्लील सामग्रीको लत तथा यसको अध्ययन, व्यवहार र मानसिक स्वास्थ्यमा पर्ने असरबारे समेत विस्तृत जानकारी दिइएको थियो । सहभागी विद्यार्थीलाई सामाजिक सञ्जालको जिम्मेवार र सुरक्षित प्रयोग गर्न प्रमुख डा तिवारीले आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी रेडियो कैलाशका निर्देशक जनकबहादुर शाहीले पछिल्लो समय १४ देखि २० वर्ष उमेर समूहका किशोर–किशोरी कुलत, हिंसा तथा विभिन्न सामाजिक जोखिमतर्फ आकर्षित हुने प्रवृत्ति बढ्दै गएकाले विद्यालयमै पुगेर यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले विद्यालयस्तरबाटै सही ज्ञान, सकारात्मक सोच र जीवन उपयोगी सीप विकास गर्न सके भविष्यमा कुलत, हिंसा र आत्महत्याजस्ता समस्यालाई उल्लेखनीय रूपमा कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । प्रशिक्षणपछि विद्यार्थीहरूले आफूले प्राप्त गरेको ज्ञानलाई साथीभाइ, परिवार र समुदायसम्म पु¥याई कुलत, हिंसा र आत्महत्याविरुद्ध सचेतना फैलाउने प्रतिबद्धता जनाएका थिए ।
यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, सही निर्णय क्षमता, नेतृत्व विकास तथा जिम्मेवार नागरिक बन्ने संस्कार विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले सम्बन्धित निकायसँग आग्रह गर्नुभयो ।
किशोरावस्था नै भविष्य निर्माणको आधार भएकाले यही उमेरमा सही शिक्षा, सही सूचना र सही मार्गदर्शन दिन सके मात्रै कुलतमुक्त, हिंसामुक्त स्वस्थ समाज निर्माण सम्भव हुने सन्देशका साथ विद्यालय स्वास्थ्य अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

